दमक, झापा १ माघ
झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १८ महिनाका बालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना५ख २१४९ नम्बरको यात्रुवाहक बस एकआपसमा ठोक्किँदा मालबाहक गाडीमा सवार १८ महिनाका आरुत राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
