काठमाडौं, १ माघ।
गगन थापाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समितिको पहिलो बैठक आज बस्दैछ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बिहीबार बिहान ११ बजे ललितपुरको कुपन्डोलमा बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।
बैठकपछि विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न कांग्रेसको टोली आज निर्वाचन आयोग जाने तयारीमा रहेको छ।
अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशनका कागजात तथा अभिलेख अद्यावधिक गर्न बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म कांग्रेसको टोली निर्वाचन आयोग जानेछ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि त्यसको आधिकारिक अभिलेख निर्वाचन आयोगमा दर्ता गराउन प्रक्रिया अघि बढाएको हो। विशेष महाधिवेशनका कागजात र दस्तावेजीकरण कार्यमा अधिवक्ता कटवालसहितको टोलीले सहजीकरण गरिरहेको जनाइएको छ।
