इटहरी, सुनसरी।
विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुने पाँचै जना सुनसरीको बर्जु गाउँपालिका वडा नं १ का एकै बस्तीका स्थानीय हुन्। प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार मृतकहरूमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्।
प्रहरीका अनुसार ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडि पाँच जना सवार थिए। ट्रक पल्टिँदा पछाडि बसेका पाँचै जनालाई मार्बलले किच्दा घटनास्थलमै मृत्यु भएको हो।
क्याबिनमा रहेका तीन जना घाइतेको विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनापछि चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
