काठमाडौं — उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग एकीकरण हुने भनिएको हल्ला भ्रामक र निराधार भएको स्पष्ट पारेका छन्। विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता हुने चर्चा सामाजिक सञ्जालमा फैलिएको आरोप छ।
घिसिङले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै, “उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीसँग, विशेषगरी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो,” भनेका छन्।
उनका अनुसार उज्यालो नेपाल पार्टी कुनै पनि दलसँग एकीकृत नहुने र आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढ्ने रणनीति कायम रहेको छ। उनले भविष्यमा पनि पार्टीले यही दिशामा अघि बढ्नेमा जोड दिए।
हाल देशभर पार्टी पुन: संरचना र संगठन विस्तारको काम भइरहेको घिसिङको भनाइ छ।
