काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै ठूलो संख्यामा एसएमएस पठाउने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सेढाईंले एकै पटक ठूलो संख्यामा नागरिकलाई राजावादी प्रदर्शनमा आउन आग्रह गर्दै एसएमएस पठाएका थिए । अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले करिब ५० लाख जनालाई एकैचोटि म्यासेज पठाइएको पाइएको जानकारी दिए ।
प्रहरीका अनुसार नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ को नाममा म्यासेज पठाइएको थियो । यसका लागि सेढाईंले दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको खुलेको छ । उनले तीनमध्ये दुईवटा दूरसञ्चार कम्पनीको सेवा प्रयोग गरी करिब एक करोड रुपैयाँ खर्च गरेर म्यासेज पठाएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ ।
चितवनका स्थायी बासिन्दा सेढाईं व्यवसायी भएको खुलेको छ । उनी कार व्यवसायमा संलग्न रहेको र पेट्रोल पम्प समेत सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
