काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा रहेका नेकपा एमालेका पाँच उम्मेदवार बाहिरिएका छन् । उम्मेदवार फिर्ता भएपछि रिक्त बनेका स्थान पूर्ति गर्न निर्वाचन आयोगले एमालेसँग नाम र विवरण माग गरेको छ ।
निर्वाचन आयोगले मंगलबार नै पत्राचार गर्दै रिक्त रहेका उम्मेदवारको नाम माघ २ गते कार्यालय समयभित्र बुझाउन निर्देशन दिएको हो । आयोगका अनुसार रिक्त स्थानमा पूर्ति गर्नुपर्ने नाम शुक्रबार पेश गरिनेछ ।
एमाले स्रोतका अनुसार समानुपातिकसहित सबैखाले उम्मेदवारी टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएकाले रिक्त स्थानका उम्मेदवार पनि उनैले तय गर्नेछन् ।
यसअघि समानुपातिकतर्फका दुई उम्मेदवार राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेपछि सूची रिक्त भएको थियो । झापाका सोमनाथ पोर्तेल र कैलालीकी लीलाकुमारी भण्डारी राष्ट्रियसभा उम्मेदवार बनेपछि उनीहरूले उम्मेदवारी दर्तापूर्व नै समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो स्थानमा एमाले केन्द्रीय कार्यालयले दैलेखकी सत्यदेवी खड्का र दोलखाका टेकबहादुर घतानीको नाम पठाइसकेको छ ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि पुस २७ गतेको मिति तोकेको थियो । सोही दिन पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ताका लागि आवेदन दिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावल रहेका छन् ।
यसैगरी सुर्खेतका बालाराम शर्मा पनि उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । तर एमालेले उनको नाम प्रारम्भिक सूचीमै सच्याइसकेकाले उनले निवेदन दिनु नपरेको आयोगले जनाएको छ ।
