३० पुस, दमक — सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोट क्षेत्रमा चेकजाँचका क्रममा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८२ लाख रुपैयाँ बराबर) सहित युवराज नेवारलाई पक्राउ गरेको हो।
सिन्धुली गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमो रोकिएपछि नेवारसँग रहेको कालो झोलाबाट १०० अमेरिकी डलरका ५७० थान नोट तथा नेपाली १२ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
यही घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि टाटा सुमोका चालक विक्रम लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
सिन्धुलीको घ्याङलेक–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकमा मंगलबार राति भएको लुटपाटपछि प्रहरीले राजमार्ग क्षेत्रमा सुरक्षा कडाइ गरेको छ। सोही क्रममा चेकजाँच गर्ने क्रममा उक्त डलर बरामद भएको प्रहरीको भनाइ छ।
प्रहरीले घटना विदेशी मुद्रा ऐन तथा बैंक लुटपाटसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएको छ।
