पूर्वी दक्षिणी झापाको भद्रपुर नगरपालिका–२, पृथ्वीनगरमा रहेको पौराणिक महत्वको किचकबध क्षेत्रको नवौँ चरणको उत्खनन अन्तिम चरणमा पुगेको छ।
गत जेठ ६ गतेदेखि पुरातत्व विभागको टोलीले सुरु गरेको उत्खननबाट जमिनमुनि लुकेका प्राचीन संरचना, इँटाका भग्नावशेष तथा ऐतिहासिक सभ्यताका प्रमाण क्रमशः उजागर भइरहेका छन्।
झापाका धेरै नागरिकका लागि किचकबध धार्मिक आस्थाको केन्द्र पनि हो। महाभारतकालीन पात्र भीमले किचकको वध गरेको स्थानका रूपमा परिचित यो क्षेत्रलाई स्थानीयले दशकौँदेखि श्रद्धापूर्वक हेर्दै आएका छन्। तर पछिल्ला दुई दशकमा भएका अध्ययन र उत्खननले यो स्थल केवल धार्मिक आख्यानको केन्द्र मात्र नभई प्राचीन सभ्यताको महत्वपूर्ण केन्द्रसमेत रहेको प्रमाणित गरिरहेका छन्।
‘किचकबध’ नाम नै महाभारतको कथासँग जोडिएको छ। पौराणिक कालका विराट राजाको राज्यमा सेनापति रहेका किचकले पाण्डव पत्नी द्रौपदीमाथि दुर्व्यवहार गर्न खोजेपछि भीमले उनको वध गरेको कथासँग यो क्षेत्र सम्बन्धित मानिन्छ। यही घटनाका कारण यो स्थान किचकबध नामले परिचित भएको हो।
तर पुरातत्वविद्हरूका अनुसार यसको महत्व धार्मिक आख्यानमा मात्र सीमित छैन। यहाँ फेला परेका संरचना, इँटा तथा अन्य पुरावशेषले यो क्षेत्र इसापूर्व दोस्रो शताब्दीदेखि इसाको प्रारम्भिक शताब्दीसम्मको शुङ्ग–कुषाणकालीन सभ्यतासँग सम्बन्धित रहेको देखाउँछन्।
पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यका अनुसार यहाँबाट प्राप्त सामग्रीको कार्बन परीक्षणले यो स्थल करिब २२ सय वर्षभन्दा पुरानो रहेको पुष्टि गरिसकेको छ।
आचार्यका अनुसार यहाँ भेटिएका संरचना र इँटाहरू अत्यन्त महत्वपूर्ण छन्। अध्ययनले यो क्षेत्र शुङ्ग–कुषाणकालीन सभ्यताको केन्द्र रहेको संकेत गरेको छ। उनका अनुसार यहाँ प्रयोग गरिएका इँटाको बनावट र आकार लुम्बिनीस्थित बुद्ध जन्मस्थल क्षेत्रमा प्रयोग भएका प्राचीन इँटासँग मिल्दोजुल्दो छ। यसले तत्कालीन समयमा पूर्वी नेपाल र दक्षिण एशियाका अन्य सभ्यताबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको अनुमानलाई बल पुर्याउँछ।
२४ वर्षदेखि जारी उत्खनन
किचकबधमा औपचारिक उत्खननको इतिहास धेरै पुरानो छैन। २०३५ सालमा मेची क्याम्पसका तत्कालीन प्राध्यापक घनश्याम खनालको नेतृत्वमा पहिलो पटक यहाँ उत्खनन गरिएको थियो। त्यसबेला केही संरचनाका अवशेष भेटिए पनि त्यसलाई निरन्तरता दिन सकिएन।
पछि २०५८ सालदेखि पुरातत्व विभागले नियमित रूपमा उत्खनन सुरु गर्यो। तर सीमित बजेट, जनशक्ति अभाव र छोटो कार्यअवधिका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन।
२४ वर्षको अवधिमा जम्मा नौ चरणको उत्खनन सम्पन्न हुनु यसको सुस्त गतिका रूपमा हेरिएको छ। हालसम्म यहाँबाट नौवटा दरबारनुमा संरचनाका अवशेष फेला परिसकेका छन्। उत्खननका क्रममा पर्खाल, कोठा, आँगन, इँटाका संरचना तथा अन्य वास्तुकलासम्बन्धी प्रमाणहरू भेटिएका छन्। यस्ता संरचनाले कुनै समय यो क्षेत्र विकसित बस्ती वा प्रशासनिक केन्द्र रहेको संकेत गर्छन्।
तर पुरातत्वविद्हरूको अनुमानमा जमिनमुनि अझै ठूलो हिस्सा लुकेको हुन सक्छ।
आचार्यका अनुसार हालसम्म उत्खनन भएको क्षेत्र सम्पूर्ण स्थलको सानो भाग मात्र हो। पर्याप्त बजेट र दीर्घकालीन योजना भए अझ धेरै महत्वपूर्ण तथ्य बाहिर आउन सक्ने उनको भनाइ छ।
नेपालमा धेरै पुरातात्त्विक स्थल पहिचान हुनुअघि नै अतिक्रमण, बेवास्ता वा अव्यवस्थित विकासको मारमा परेका उदाहरण प्रशस्त छन्। किचकबध पनि त्यही सूचीमा पर्न सक्ने खतरा बढ्दो छ।
आचार्य भन्छन्, “हामीले माल फेला पारेका छौँ, तर त्यसलाई उपयोग गर्ने अवसर पाएका छैनौँ। यति ठूलो ऐतिहासिक महत्व बोकेको स्थल नेपालमा विरलै भेटिन्छ। तर यसको संरक्षण, अध्ययन र प्रचारप्रसारमा स्थानीय, प्रदेश र संघीय तहबाट पर्याप्त चासो देखिएको छैन।”
उत्खनन गरिएका संरचनाको संरक्षणका लागि आवश्यक भौतिक पूर्वाधार छैन। वर्षायाममा पानी जम्ने, झारपात फैलिने तथा संरचना क्षति हुने जोखिम कायम छ। कतिपय संरचनालाई अस्थायी रूपमा छोपेर राखिएको छ।
आचार्यका अनुसार कुनै पनि पुरातात्त्विक स्थलको मूल्य केवल त्यहाँ भेटिएका इँटा वा भग्नावशेषले मात्र निर्धारण हुँदैन। त्यसले कुनै कालखण्डको राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक जीवनको कथा सुनाउँछ। किचकबधले पनि पूर्वी नेपालको प्राचीन इतिहास पुनर्लेखन गर्ने सम्भावना बोकेको महत्वपूर्ण स्थलका रूपमा आफूलाई स्थापित गरिरहेको छ। तर त्यसका लागि आवश्यक अनुसन्धान, अभिलेखीकरण र संरक्षणको काम पर्याप्त रूपमा भएको छैन।
विश्व सम्पदाको सम्भावना
पुरातत्व क्षेत्रका जानकारहरूका अनुसार किचकबधमा भेटिएका संरचना र यसको ऐतिहासिक गहिराइलाई व्यवस्थित रूपमा अध्ययन गर्न सकिए यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ।
नेपालमा लुम्बिनी, काठमाडौं उपत्यका, चितवन र सगरमाथा जस्ता सम्पदा क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन्। किचकबध तत्कालै त्यही स्तरमा पुग्ने अवस्थामा नभए पनि दीर्घकालीन योजना र वैज्ञानिक संरक्षणका आधारमा सम्भावना देखिन्छ।
यसका लागि विस्तृत पुरातात्त्विक अध्ययन, संरक्षण योजना, स्थानीय समुदायको सहभागिता तथा सरकारी प्रतिबद्धता आवश्यक छ। तर अहिलेसम्म यस क्षेत्रको समग्र विकासका लागि स्पष्ट गुरुयोजना तयार भएको छैन।
किचकबधको अर्को महत्व यसको पर्यटन सम्भावनासँग जोडिएको छ। भद्रपुर विमानस्थल नजिकै रहेको यो क्षेत्र भारतीय सीमासँग पनि जोडिएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ।
विश्वका धेरै देशले पुरातात्त्विक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाएका छन्। नेपालमा लुम्बिनी र जनकपुर त्यसका उदाहरण हुन्।
स्थानीय व्यवसायी तथा सरोकारवालाका अनुसार किचकबधलाई व्यवस्थित रूपमा विकास गर्न सके यसले भद्रपुर मात्र होइन, समग्र कोशी प्रदेशको पर्यटन अर्थतन्त्रलाई नयाँ आयाम दिन सक्छ।
यस क्षेत्रलाई संग्रहालय, अनुसन्धान केन्द्र, पर्यटक सूचना केन्द्र तथा सांस्कृतिक पदमार्गसँग जोड्न सकिने सम्भावना रहेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए। उनका अनुसार आगामी दिनमा प्रदेश र संघीय सरकारसँग समन्वय गरी यसलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ।
मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालका अनुसार किचकबध केवल झापाको एउटा धार्मिक स्थल होइन, पूर्वी नेपालको प्राचीन इतिहास बुझ्ने सम्भावित ‘खुला पुस्तक’ हो। जमिनमुनि लुकेका संरचनाले २२ सय वर्षअघिको सभ्यता, जीवनशैली र सांस्कृतिक सम्बन्धका कथा बोकेका छन्।
दाहाल भन्छन्, “अहिलेसम्मको उत्खननले किचकबधको महत्व प्रमाणित गरिसकेको छ। अब प्रश्न यसको ऐतिहासिक मूल्यबारे होइन, राज्यले त्यसलाई कति गम्भीरतापूर्वक लिन्छ भन्ने हो।”
उनका अनुसार समयमै संरक्षण, अनुसन्धान र प्रवर्द्धनको काम हुन नसके किचकबधका अवशेष क्रमशः क्षयीकरणतर्फ जानेछन्। भविष्यका पुस्ताले २२ सय वर्ष पुरानो सभ्यताको कथा अध्ययन प्रतिवेदन र पुराना तस्वीरमा मात्र खोज्नुपर्ने अवस्था आउन सक्ने भएकाले राज्यको ध्यान जान आवश्यक छ।
