काठमाडौं – विराज भक्त श्रेष्ठ ले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण तथा आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् आयोजना पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे।
उनले जलाशययुक्त आयोजना केवल विद्युत् उत्पादनको माध्यम मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार, पर्यटन प्रवर्द्धन तथा ऊर्जा आपूर्तिमा सन्तुलन कायम गर्ने राष्ट्रिय विकासको आधार बन्न सक्ने धारणा व्यक्त गरे।
कुलेखानीका तीनवटै विद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण अनियमित वर्षा, हिमनदी पग्लिने र प्राकृतिक जोखिम बढ्दै गएको उल्लेख गर्दै भविष्यका लागि पानी भण्डारण संरचनाको महत्व अझ बढेको बताए।
उनले जलाशययुक्त आयोजनाबाट ‘पीक आवर’ मा बढी विद्युत् उत्पादन गर्न सकिने भएकाले उद्योग, व्यापार, डाटा सेन्टर, सूचना प्रविधि उद्योग तथा सहरी क्षेत्रमा दिगो ऊर्जा आपूर्ति सुनिश्चित हुने र त्यसले आर्थिक विकासलाई गति दिने बताए।
मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण लाई बहुउद्देश्यीय व्यापार प्रवर्द्धनका लागि जलाशययुक्त आयोजनाको एकीकृत विकास मोडल तयार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नेपाली जनशक्ति यस्ता आयोजना निर्माण र सञ्चालनमा सक्षम भइसकेको भन्दै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए।
सरकारले जलाशययुक्त आयोजनाप्रति निजी क्षेत्रको आकर्षण बढाउन यस्ता आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गरेको उल्लेख गर्दै उनले बहुआयामिक लाभ हासिल गर्न यस्ता आयोजना विस्तार आवश्यक रहेको बताए।
मन्त्री श्रेष्ठले कुलेखानीलाई नेपालको ‘रोल मोडल’ परियोजनाको रूपमा उल्लेख गर्दै यसको आर्थिक तथा सामाजिक योगदानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे। साथै, स्थानीयबासीका गुनासो सम्बोधन गर्न, जलाधार क्षेत्रको स्पष्ट सीमांकन गर्न तथा फोहोर व्यवस्थापनमा गम्भीर बन्न सम्बन्धित निकायलाई निर्देशन दिए।
सन् १९८२ मा निर्माण सम्पन्न भएको कुलेखानी आयोजना नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो। इन्द्रसरोवर गाउँपालिका मा अवस्थित यस आयोजनाको कुल जडित क्षमता १०६ मेगावाट रहेको छ। आयोजनाअन्तर्गत कुलेखानी–१ बाट ६० मेगावाट, कुलेखानी–२ बाट ३२ मेगावाट तथा कुलेखानी–३ बाट १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।
मानवनिर्मित इन्द्रसरोवर ताल विद्युत् उत्पादनसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ। सुक्खा याम तथा उच्च विद्युत् मागका समयमा राष्ट्रिय विद्युत् प्रणालीलाई सन्तुलित राख्न कुलेखानी आयोजना नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा स्थापित भएको मानिन्छ।
