आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख ११ गते मनाइने यो दिवसले नेपाली जनताको लामो संघर्ष, त्याग र उपलब्धिलाई सम्झाउने गर्दछ।
वि.सं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले आन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनःस्थापना गरेका थिए। २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापनासँगै जनआन्दोलनले ऐतिहासिक सफलता प्राप्त गरेको मानिन्छ। यही विजयको सम्झनामा वि.सं. २०६४ देखि लोकतन्त्र दिवस मनाउन थालिएको हो।
संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन नसक्दा देश राजनीतिक अस्थिरतामा फस्यो। त्यस अवधिमा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा लाई पालैपालो प्रधानमन्त्री नियुक्त गर्ने र हटाउने क्रम चलाए।
वि.सं. २०६१ माघ १९ गते राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि आन्दोलनले थप तीव्रता पायो। त्यसपछि सात दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भई राजनीतिक शक्ति एकताबद्ध भयो। गिरिजाप्रसाद कोइराला को नेतृत्वमा सुरु भएको जनआन्दोलन २०६२/६३ निर्णायक चरणमा पुगेको थियो।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिए, चक्रपथ मानवसागरले भरियो। जनदबाबपछि राजा ज्ञानेन्द्रले वैशाख ११ गते संसद् पुनःस्थापनाको घोषणा गर्दै राजनीतिक दलहरूको माग स्वीकार गरे। यही दिनलाई लोकतन्त्र दिवसका रूपमा स्थापित गरिएको हो, जसले गणतन्त्रतर्फको यात्रालाई मजबुत बनायो।
यसपछिका राजनीतिक घटनाक्रमले नेपाललाई नयाँ मोडमा पुर्यायो। २०६३ जेठ ४ गतेको संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै शान्ति प्रक्रिया अघि बढाउने निर्णय गर्यो, जसलाई ‘नेपाली म्याग्नाकार्टा’ पनि भनिन्छ। त्यसकै आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। त्यसपछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो, जसले संघीय संरचनालाई संस्थागत गर्यो।
हाल संविधानअनुसार संघीय, प्रादेशिक र स्थानीय तहका सरकारमार्फत शासन सञ्चालन भइरहेको छ। लोकतन्त्र दिवस केवल ऐतिहासिक उपलब्धिको स्मरण मात्र नभई जनअधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता जनाउने महत्वपूर्ण अवसर पनि हो।
यसरी वैशाख ११ गते नेपाली जनताको संघर्षबाट प्राप्त परिवर्तनको प्रवेशद्वारका रूपमा स्थापित हुँदै आएको छ।
