हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिमयुक्त समय मानिन्छ, तर यस वर्ष भने डढेलोका घटनामा उल्लेखनीय कमी आएको छ। मनसुन सुरु हुनु अघि नै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा चैत महिनामा डढेलो घटेको देखिएको हो।
वन तथा भू–संरक्षण विभाग का अनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए भने २०७९ मा २६७ मा झरेको थियो। २०८० मा २४९ र २०८१ मा बढेर ३३१ पुगेकोमा २०८२ चैतमा भने हालसम्मकै न्यून ७९ वटा मात्र घटना दर्ता भएका छन्। समग्र वार्षिक तथ्यांकमा पनि यस वर्ष उल्लेखनीय गिरावट देखिएको छ।

वन तथा वातावरण मन्त्रालय का सचिव डा. गोविन्दप्रसाद शर्मा ले मनसुनअघि नै भएको वर्षाले सुक्खापन कम गरी डढेलो नियन्त्रणमा सहयोग पुगेको बताए। उनले डढेलो व्यवस्थापनका उपायबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको र ड्रोन खरिदलगायत प्रविधि प्रयोग गर्ने विषय पनि उठेको जानकारी दिए।
महिनागत विश्लेषण अनुसार वैशाख सबैभन्दा जोखिमयुक्त महिना हो, जहाँ कुल घटनाको करिब ५७ प्रतिशत डढेलो हुने गर्छ। यद्यपि २०८२ वैशाखमा डढेलो संख्या घटेर १७३ मा सीमित भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार यस वर्ष प्रि–मनसुन अवधिमा सरदरभन्दा बढी, करिब ४४.३ प्रतिशत वर्षा भइसकेको छ, जसले वनको आर्द्रता कायम राख्न मद्दत गरेको छ।
प्रदेशगत रूपमा विगतका वर्षहरूमा लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम सबैभन्दा बढी प्रभावित थिए। तर २०८२ मा सबै प्रदेशमा डढेलोका घटना घटेका छन्। तथ्यांकले सुदूरपश्चिममा सबैभन्दा बढी र कोशी प्रदेशमा सबैभन्दा कम डढेलो भएको देखाउँछ।
जलवायु परिवर्तन, बढ्दो तापक्रम, लामो सुक्खा अवधि र मानवीय गतिविधि वन डढेलोका प्रमुख कारण हुन्। तथ्यांकअनुसार करिब ६४ प्रतिशत डढेलो मानिसको जानाजानीबाट र ३२ प्रतिशत लापरबाहीका कारण हुने गरेको छ, जसले दीर्घकालीन नियन्त्रणका लागि जनचेतना र प्रभावकारी व्यवस्थापन अझै आवश्यक रहेको संकेत गर्छ।
