काठमाडौँ । सामान्यतया बुढ्यौलीको लक्षण मानिने हिँड्न गाह्रो हुनु, शरीर कडा हुनु वा हात काँप्नेजस्ता समस्या गम्भीर स्नायु रोग पार्किन्सनका प्रारम्भिक संकेत हुनसक्ने चिकित्सकहरूले बताएका छन्। उनीहरूले यस्ता लक्षणलाई बेवास्ता नगरी समयमै परीक्षण र उपचार गर्न आग्रह गरेका छन्।
विश्व पार्किन्सन दिवसको अवसरमा सिनियर केयर सेन्टरले काठमाडौँमा आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा विशेषज्ञहरूले समयमै रोग पहिचान भएन भने अवस्था क्रमशः जटिल बन्दै जाने चेतावनी दिए।
नसारोग विशेषज्ञ डा. राजु पौडेलका अनुसार पार्किन्सन मस्तिष्कको सब्स्टेन्सिया निग्रा भागमा डोपामाइन नामक रसायनको कमी हुँदा हुने प्रगतिशील न्युरोलोजिकल रोग हो, जसले शरीरको चालढाल नियन्त्रण गर्ने क्षमतामा असर पार्छ। उनका अनुसार यस रोगका मुख्य लक्षणहरूमा हात काँप्नु, शरीर कडा हुनु, चाल सुस्त हुनु र सन्तुलन बिग्रिनु जस्ता समस्या देखिन्छन्।
डा. पौडेलले नेपालमा ५ हजारभन्दा बढी पार्किन्सनका बिरामी रहेको अनुमान रहेको उल्लेख गर्दै प्रत्येक वर्ष करिब ५ सय बिरामीको मृत्यु यसै रोगसँग सम्बन्धित हुने बताउनुभयो। ६० देखि ८० वर्ष उमेर समूहमा यो रोग बढी देखिए पनि ४० वर्षमुनिका करिब ५ प्रतिशत बिरामी पनि रहेको तथ्यांक उनले प्रस्तुत गरे।
उनका अनुसार प्रारम्भिक चरणमै उपचार सुरु गरेमा बिरामी सामान्य जीवन जिउन सक्ने सम्भावना रहन्छ। “सबै हात काँप्ने समस्या पार्किन्सन हुँदैन,” उनले स्पष्ट पारे।
विशेषज्ञ डा. रेसा श्रेष्ठका अनुसार प्रारम्भिक अवस्थामा औषधिबाट रोग राम्रोसँग नियन्त्रण गर्न सकिन्छ। तर औषधिले काम नगर्ने अवस्थामा पुगेपछि शल्यक्रिया (डीप ब्रेन स्टिमुलेसन) आवश्यक पर्न सक्छ।
चिकित्सकहरूका अनुसार पार्किन्सन पूर्ण रूपमा निको नहुने रोग भए पनि नियमित औषधि, व्यायाम, फिजियोथेरापी, स्पिच थेरापी र जीवनशैली परिवर्तनमार्फत यसको प्रभाव नियन्त्रण गर्न सकिन्छ। योग, ध्यान तथा सन्तुलित आहारले पनि बिरामीको जीवन सहज बनाउन मद्दत गर्ने उनीहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार पछिल्ला २५ वर्षमा पार्किन्सन रोगको संख्या दोब्बर भएको छ र विश्वभर लाखौँ मानिस प्रभावित भएका छन्। नेपालमा पनि यसको जोखिम र बिरामी संख्या बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएको छ।
कार्यक्रममा सहभागी बिरामीहरूले रोगबारे जानकारी र उपचारका नयाँ प्रविधिबारे बुझ्न पाउँदा उत्साह व्यक्त गरेका थिए। विशेषज्ञहरूले समाजमा सचेतना फैलाउन सके प्रारम्भिक पहिचान र उपचार सम्भव
