काठमाडौं । इरान का दुई प्रमुख स्टिल उत्पादक मोबारकेह स्टील (इस्फहान) र खुजेस्तान स्टील (अहवाज) माथि भएको अमेरिकी–इजरायली बमबारीपछि इरानभरि आक्रोश र चिन्ता बढेको छ ।
तेलपछि इरानको दोस्रो ठूलो आम्दानीको स्रोत मानिने स्टिल क्षेत्रमा भएको यो आक्रमणले भौतिक संरचनामात्र होइन, देशको भविष्यको आर्थिक वृद्धिलाई समेत अनिश्चित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्लेषकहरूले यसलाई इरानको आर्थिक मेरुदण्डमाथिको प्रहारका रूपमा व्याख्या गरेका छन् ।
सन् २०२५ मा इरान विश्वकै प्रमुख कच्चा स्टिल उत्पादकमध्ये एक थियो, जसको वार्षिक उत्पादन करिब ३.१८ करोड टन पुगेको थियो । मोबारकेह स्टीलले मात्रै मार्च २०२५ देखि जनवरी २०२६ सम्ममा स्टिल निर्यातबाट ८६ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । त्यस्तै, खुजेस्तान स्टीलमा करिब १० हजार श्रमिक कार्यरत छन्, जसको रोजगारी अहिले जोखिममा परेको छ ।
Argus Media र The Wall Street Journal का अनुसार हमलाले ऊर्जा संरचनामा ठूलो क्षति पुर्याएको छ । स्टिल उत्पादनका लागि आवश्यक विद्युत् आपूर्ति अवरुद्ध हुँदा उत्पादन ठप्प भएको छ । बिजुली कटौतीका कारण तातो फलाम मेसिनमै जम्ने जोखिमले थप आर्थिक क्षति बढ्ने खतरा रहेको बताइएको छ ।
अमेरिका र इजरायलले यी औद्योगिक संरचनालाई ‘सैन्य निसाना’ मानेको बताइए पनि यसको मुख्य उद्देश्य इरानी सरकार र Islamic Revolutionary Guard Corps सँग जोडिएको आर्थिक सञ्जाल कमजोर पार्नु रहेको विश्लेषण गरिएको छ ।
प्रारम्भिक अनुमानअनुसार आक्रमणबाट ५ देखि ६ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको छ । तर, निर्माण र उत्पादन क्षेत्रमा पर्ने दीर्घकालीन असर अझ गम्भीर हुने विज्ञहरूको भनाइ छ ।
स्टिल उद्योगमा आएको संकटले हजारौँ साना उद्योगहरू कच्चा पदार्थको अभावमा बन्द हुने जोखिम बढेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद स्टिल निर्यातले धानिएको इरानको अर्थतन्त्र अब थप दबाबमा परेको छ ।
अर्थशास्त्रीहरूका अनुसार युद्ध लम्बिँदै जाँदा विकास बजेट सैन्य क्षेत्रमा खर्च भइरहेको छ । हाल इरानले युद्धको प्रत्यक्ष क्षति, अन्तर्राष्ट्रिय प्रतिबन्ध र उच्च मुद्रास्फीति गरी तीनवटा मोर्चामा एकसाथ दबाब झेलिरहेको छ ।
यदि युद्धपछिको अवस्थामा पनि प्रतिबन्ध कायम रहे र उद्योग पुनः सञ्चालनमा आउन सकेनन् भने दक्ष जनशक्ति विदेशिने जोखिम बढ्ने चेतावनी दिइएको छ, जसले दीर्घकालीन आर्थिक पुनरुत्थानलाई झन् कठिन बनाउनेछ ।
आर्थिक विश्लेषक अलीरेजा सलावतीका अनुसार, क्षति प्राविधिक स्तरमा सीमित भए केही महिनामै मर्मत सम्भव हुन सक्छ । तर मुख्य मेसिनरी नै नष्ट भएको अवस्थामा नयाँ प्रविधि आयात गर्न प्रतिबन्धका कारण कठिन हुने र अन्ततः इरान आयातमा निर्भर बन्न सक्ने देखिन्छ ।
