काठमाडौं/महोत्तरी – महोत्तरीको रामगोपालपुर–७ ससौलामा पक्की घरहरूले घेरिएको बस्तीबीच बाँसले घेरिएको सानो घर छ। त्यही घरको आँगनमा ५० वर्षीया सोमशिला देवी साह प्रायः टोलाएर बसिरहेकी देखिन्छिन्। घरमा को आयो, को गयो—उनलाई खासै चासो हुँदैन।
उनका श्रीमान् वीरेन्द्र साहका अनुसार, “उनी दुई वर्षदेखि कसैसँग राम्ररी बोल्दिनन्। हाँसो हराइसकेको छ, खानामा रुचि छैन, रातभर निद्रा पर्दैन। शरीर दिनदिनै कमजोर बन्दै गएको छ।” स्वास्थ्य परीक्षण गर्दा कुनै शारीरिक रोग नदेखिए पनि मानसिक पीडा गहिरिँदै गएको उनले बताए।
कहिल्यै यस्तो अवस्थामा नदेखिएकी सोमशिलाको जीवनमा ठूलो परिवर्तन त्यतिबेला आयो, जब साउदी अरबमा रहेका उनका छोरा सुनील साहको मृत्यु भएको खबर आयो। २१ वर्षीय सुनील घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर ७ अप्रिल २०२२ मा वैदेशिक रोजगारीका लागि गएका थिए।
‘फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि’ मार्फत साउदी पुगेका उनी रियाद नजिकैको अल–खार्ज औद्योगिक क्षेत्रमा रहेको एक कम्पनीमा कार्यरत थिए। मासिक एक हजार रियाल कमाउँदै आएका सुनीलको करार अवधि सकिनु एक महिना बाँकी रहँदा ११ मार्च २०२४ मा कार्यस्थलमै आगलागीमा परेर ज्यान गएको थियो।
छोराको मृत्युको खबरले सोमशिलाको मानसिक अवस्था पूर्ण रूपमा बदलियो। झन् पीडादायी कुरा के भने, उनले छोराको शवसमेत देख्न पाइनन्। “शव नेपाल ल्याउन नसक्दा हामी झन् पीडामा छौं,” वीरेन्द्र भन्छन्।
परिवारले बाँसको घर भत्काएर पक्की घर बनाउने सपना देखेको थियो, तर त्यो सपना अधुरै रह्यो। अहिले त्यो घरमा शोक, पीडा र प्रतीक्षाको भारी छ—जहाँ एक आमाले आफ्ना सन्तानको अन्तिम दर्शनसमेत गर्न नपाएको पीडा बोकेर जीवन बिताइरहेकी छन्।
यो घटना वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको सुरक्षा, बीमा र मृत्युपछि हुने प्रक्रियामा अझ सुधार आवश्यक रहेको गम्भीर संकेतका रूपमा पनि हेरिएको छ।
