काठमाडौं – अमेरिका ले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेख्य रूपमा बढाएको छ। इरान सँगको युद्ध अपेक्षाभन्दा लामो समयसम्म तानिएपछि अमेरिकी तर्फबाट थप सैनिक परिचालन गरिएको हो।
The New York Times का अनुसार आइतबारसम्म मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकको संख्या करिब ५० हजार पुगेको छ। सामान्य अवस्थामा करिब ४० हजार सैनिक रहने क्षेत्रमा हाल थप १० हजारभन्दा बढी सैनिक पठाइएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले केही दिनमै इरान झुक्ने दाबी गरे पनि युद्ध एक महिनाभन्दा बढी लम्बिएपछि अमेरिकी सैन्य रणनीतिमा परिवर्तन आएको देखिएको छ। सैनिक संख्या बढेसँगै ट्रम्पमाथि इरानमा स्थल आक्रमण (ग्राउन्ड अपरेसन) गर्नुपर्ने दबाब पनि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
हालै अमेरिकाले जापान स्थित सैन्य अड्डाबाट करिब २५०० मरिन (समुद्री युद्धका लागि प्रशिक्षित सेना) मध्यपूर्व पठाएको छ भने त्यत्तिकै संख्यामा पश्चिमी किनारबाट पनि थप फौज पठाइएको छ। यसअघि पेन्टागन ले ८२ औँ एयरबोर्न डिभिजनअन्तर्गतका २ हजारभन्दा बढी ‘इमिडियट रेस्पोन्स’ सैनिकहरू पनि परिचालन गरिसकेको छ।
मध्यपूर्वमा अमेरिकाका करिब १९ वटा अस्थायी र स्थायी सैन्य अड्डा रहेको Al Jazeera ले जनाएको छ। कतार, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक र जोर्डन मा अमेरिकी सैन्य उपस्थिति छ। कतारस्थित अल उदैद एयर बेस क्षेत्रीय कमाण्ड केन्द्रका रूपमा रहेको छ।
अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’ बहराइन मा तैनाथ छ भने कुवेतको क्याम्प अरिफजन सबैभन्दा ठूलो लजिस्टिक केन्द्र मानिन्छ।
यसबीच, इरानको महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापु लाई लक्षित गर्दै अमेरिकी सैन्य तैनाथी बढाइएको विश्लेषण गरिएको छ। इरानको करिब ९० प्रतिशत कच्चा तेल यही टापुबाट निर्यात हुने भएकाले यसको रणनीतिक महत्व अत्यधिक छ।
Associated Press का अनुसार खार्ग टापु नियन्त्रणमा लिए इरानलाई होर्मुज जलडमरूमार्ग मा अवरोध हटाउन बाध्य पार्ने अमेरिकी रणनीति हुन सक्ने अनुमान गरिएको छ।
यता इरानले सम्भावित आक्रमणलाई ध्यानमा राख्दै सुरक्षा कडा बनाएको छ। इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ ले अमेरिकी सेनामाथि कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
ट्रम्पले भने खार्ग टापु कब्जा गर्ने विकल्पसहित विभिन्न रणनीति आफ्नो हातमा रहेको बताएका छन्। उनले इरानलाई वार्तामा आउन दबाब दिन सैन्य तैनाथी बढाइएको संकेत दिएका छन्।
युद्ध थप चर्किने वा कूटनीतिक समाधानतर्फ मोडिने भन्ने विषय अहिले अन्तर्राष्ट्रिय समुदायको चासोको केन्द्र बनेको छ।
