बंगलादेशमा नयाँ सरकार गठनका लागि मतदान सुरु भएको छ। ५१ वटा राजनीतिक दल सत्ता हासिल गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। यसपटक करिब १२.७ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन्।
यो निर्वाचनमा युवा मतदाताको भूमिका निकै महत्त्वपूर्ण मानिएको छ। करिब आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् भने करिब ४५ लाख मतदाता पहिलोपटक मतदान गर्दै छन्। विश्लेषकहरूले युवा मतदाताको झुकावले चुनावी परिणाममा ठूलो प्रभाव पार्न सक्ने बताएका छन्।
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री पदका लागि सबैभन्दा बलिया दाबेदार मानिएको छ। डिसेम्बरमा १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका रहमानले अहिले पार्टीको नेतृत्व सम्हालिरहेका छन्। हालैको एक सर्वेक्षणमा बीएनपीलाई ७० प्रतिशत समर्थन देखिएको दाबी गरिएको छ, यद्यपि पछिल्ला दिनमा प्रतिस्पर्धी दलहरूको प्रभाव पनि बढ्दो छ।
प्रधानमन्त्री पदको दोस्रो बलियो दाबेदार इस्लामिक पार्टी जमात–ए–इस्लामीका प्रमुख शफिकुर रहमान मानिएका छन्। करिब २ करोड समर्थक रहेको दाबी गरिने यो पार्टीले स्वतन्त्रतापछिको इतिहासमा सत्ताको नेतृत्व गर्ने अवसर पाएको छैन। यद्यपि, इस्लामिक मतदाताको बलियो समर्थन यसपटक निर्णायक बन्न सक्ने आकलन गरिएको छ।
त्यस्तै, २०२४ को विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेता नाहिद इस्लाम पनि प्रधानमन्त्रीको दौडमा छन्। उनले गठन गरेको नेसनल सिटीजन पार्टी (एनसीपी) युवाहरू र परिवर्तन चाहने मतदाताको प्रतिनिधित्व गर्ने दाबी गर्छ। एनसीपी र जमात–ए–इस्लामीबीच चुनावी तालमेलसमेत भएको छ।
बीएनपीलाई चुनौती दिन जमात नेतृत्वको गठबन्धनमा ११ पार्टी एकजुट भएका छन्। इस्लामिक दलहरूले आफ्ना समर्थकको मत एकीकृत गर्न ‘वान बक्स पोलिसी’ अपनाएको जनाइएको छ।
‘जातीय संसद’ भनिने बंगलादेशको संसदमा ३५० सांसद रहने व्यवस्था छ। ३०० सिटका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ भने ५० सिट महिलाका लागि आरक्षित छन्। ती सिटहरू प्रत्यक्ष निर्वाचनबाट नभई दलहरूले प्राप्त गरेको जनमतको आधारमा बाँडफाँट गरिन्छ।
निर्वाचनको परिणामले बंगलादेशको आगामी पाँच वर्षको राजनीतिक दिशा तय गर्नेछ। युवा मतदाताको निर्णय, गठबन्धनको रणनीति र सहानुभूति मतको प्रभाव यसपटकको चुनावको प्रमुख निर्धारक तत्व बन्ने विश्लेषण गरिएको छ।
